प्रदेश २ मा प्रदेशको नामका लागि चुनाव शुरुः सत्ताधारी दललाई १६ मतको अभाव

काठमाडौं । प्रदेश-२ को नामका लागि आज प्रदेशसभामा चुनाव हुने भएको छ । प्रदेश २ को नाम जानकी रहने कि मधेश प्रदेश रहने सम्बन्धमा आजै मतदान हुने भएको छ । सत्ताधारी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालका अधिकांश सांसद मधेश प्रदेशको पक्षमा छन् । सो पार्टीका केही सांसदहरु मध्य प्रदेशको पक्षमा पनि वकालत गरिरहेका छन् भने उता काँग्रेसले मिथिला भोजपुरा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जानकी प्रदेशका लागि पहल गरिरहेका छन् ।
आज बिहानै मतदान गर्ने समय तय भएको थियो तर छलफल ढिलो सकेको कारण मतदानमा ढिलाई भएको हो । प्रदेशसभाको बैठक भर्खर सकिएको छ । चुनावी प्रकृया शुरु भएको छ । आजको छलफलमा ३० जनाले आ–आफ्नो धारणा राखेका थिए । सत्तारुढ दललाई मधेश प्रदेश नाम राख्नका लागि १६ मत कम भएको छ । नेकपा र काँग्रेसबाट १६ वटा मत तान्ने योजनामा सत्ताधारी दल रहेका छन् ।
गोप्य मतदान भएका कारणले नेकपा र काँग्रेसबाट मत आउने आशमा सत्ताधारी दल राजपा नेपाल र समाजवादी रहेका छन् । ती दलका नेताहरुले नेकपा र काँग्रेसका प्रदेश सांसदहरुसँग कुराकानी गरिरहेका छन् । मधेश प्रदेश पक्षमा मतदान गर्ने आश्वासन थुप्रैले दिएको प्रदेश सांसद उपेन्द्र महतोले बताए । मधेश आन्दोलनको मर्म र चाहनाअनुसार मधेश प्रदेश हुनुपर्नेमा लगभग सहमति हुने विश्वास लिएको उनले बताए ।
मधेशी जनता चाहे त्यो काँग्रेस होस्, नेकपा होस् सबैले मधेश प्रदेशका लागि आन्दोलन गरेका थिए र आज त्यो प्रदेश नामाकरण गर्ने दिन आइसकेको उनले बताए । मतदान भयो भने मधेश प्रदेश हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्