काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार यो सामान्य प्रक्रिया हो र यसमा धेरै समय पनि लाग्दैन। ‘आज मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्ने हो । त्यो राखेको धेरै दिन भइसक्यो। धेरै राख्नुपनि हुँदैन,’ उनले भनिन, ‘यो निकाल्न धेरै समय पनि लाग्दैन । सामान्य प्रक्रिया हो । त्यो निकालेर फर्किनुहुन्छ ।’

मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मुत्रथैलीसम्म पुगोस् भनेर राखिएको स्टेन्ट प्रा.डा. उत्तम शर्माले झिक्न लागेका हुन् । ‘त्यो सामान्य कुरो हो,’ उनले भने, ‘हामी अस्पतालमा कुरिरहेका छौं। उहाँ आउनेबित्तिकै झिकेर पठाइदिन्छौं।’ उनको अन्य कुनै परीक्षण हुनेरनहुनेबारे भने चिकित्सकहरुले केही बताएनन् ।