काठमाडौ २, चैत । तत्कालीन एकीकृत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा हाल सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटा कार्यक्रममा थप्पड हानेका पदम कुँवर पक्राउ परेका छन् ।

संघीय संसद भवनमा जबर्जस्ती छिरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार  कुँवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

प्रहरीसँग उनले नेताहरुले देश बिगारे भन्दै ‘हल्ला गरेपछि’ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले कुँवर पक्राउ परेको पुष्टि गरेको छ । बाग्लुङको राजकुत भर भएका कुँवरले २०६९ सालमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एउटा कार्यक्रममा प्रचण्डमाथि थप्पड प्रहार गरेका थिए ।