झापा । एकाबिहानै झिसमिसेमा एक पोको चामलको पिठो, एक थान कसौँडी, कसौँडी माथि माटाको सानो भाँडो, एउटा सार्न मिल्ने दाउरा बाल्ने चुलो र केही थान दाउरा को जोरजाम गरेपछि गौरादह, झापाकी जनकमाया राजवंशीको व्यापार सुरु हुन्छ ।

बिहान ५ बजेदेखि ९ बजे सम्म चल्ने उनको व्यापारमा न टेबुल कुर्सी चाहिन्छ न त सटर कबल नै । सडक कुनामा बसेर एकसुरमा भक्का पकाई रहेकी उनलाई आएका ग्राहकलाई समान दिन भ्याई नभ्याई थियो । घर लैजानेलाई प्लास्टिकको झोलामा र त्यही खानेलाई कागजको टुक्रामा तात्तातो भक्का बेचिरहेको उनको हात एकतमासले व्यस्त थियो ।

झापा, मोरङ र सुनसरी लगायतका जिल्लाहरूमा जनकमायाको जस्तै भक्का पसल धेरै छन् । बजारका सबै चोक र गल्लीमा यस्ता भक्का पसलले स्थानीय वासीलाई स्वादिलो मौलिक खाजा मात्र खुवाएका छैनन् यसबाट हजारौँको जीविका समेत चलेको छ । साना बालबालिका देखि युवा प्रौढ लगायत सबैले भक्का असाध्य मन पराउने गरेको जनकमायाको अनुभव छ । उनलाई बिहान कलेज र स्कुल जाने विद्यार्थीको माग पुर्‍याउन नै हम्मे पर्ने गरेको छ । बिहान मर्निङ वाक गर्ने नै विशेष गरी भक्काका ग्राहक भएको उनको भनाइ छ ।

नेपालको पूर्वी जिल्ला झापाको लोकप्रिय खाजा भक्काको व्यापारमा लागेकी जनकमायाले दिनको कम्तीमा एक हजार पाँच सय रुपैयाँको व्यापार गर्छिन् । खर्च कटाएर सरदर ५०० देखि ८०० नाफा बच्ने उनको यही पेसाले घरबार चलेको छ । भक्काको व्यापार असोज महिनामा सुरु भएर फागुनसम्म चल्ने गरेको छ ।

झापाको काँकडभिट्टा, बिर्तामोड, अर्जुनधारा, खजुरगाछी, भद्रपुर, चारआली, गौरादहलगायतका क्षेत्रका सडक किनारमा बिहानै भक्का बेच्ने र खानेको भीड नै देखिन्छ ।

गौरादहका पत्रकार युवराज भट्टराई “भक्का” झापाको पहिचान रहेको बताउँछन् । स्वास्थ्यका हिसाबले राम्रो तथा अन्य खाजाको तुलनामा सस्तो भएकाले पनि यसको लोकप्रियता बढी रहेको उनको भनाई छ ।

भक्काको मूल्य १० रुपैयाँ प्रति गोटा रहेको राजवंशी बताउँछिन्, उनका अनुसार भक्का बनाउने चामललाई एक दिनअगाडि भिजाउनुपर्छ । मिलमा पिसेको पीठो बढी ओभानो हुने भएकाले त्यसबाट भक्का बनाउन सकिँदैन । ‘गाउँघरतिर भक्का बनाउने चामल ढिकीमै कुटेर पीठो बनाइन्छ ।’ त्यसपछि थोरै पानी हालेर मुछिएको पीठोलाई कचौराको आकार दिइन्छ । अनि, एउटा कसौँडीमाथि अर्को माटोको भाँडोमा एउटा मात्र प्वाल बनाई चुलोमा राखिन्छ ।

झापाको राजवंशी समुदायमा छोरीको विवाहपछि कोसेलीका रूपमा पठाउने परिकार “भक्का” अहिले झापाका विभिन्न स्थानका सडक किनारामा मात्र होइन झापाकै नाम चलेका आधुनिक रेस्टुरेन्ट र काठमाडौँमा समेत पाइन थालेको छ ।