अहिले युवामा मानसिक समस्या बढी किन देखिएको छ? समाधान के हुन सक्छ ?

विगतमा प्रौढ उमेर पछिमात्र देखिने विश्वास गरिएको मानसिक स्वास्थ्य समस्या हाल युवा र बालबालिकामा समेत बढी देखिन थालेको अध्ययनले देखाएको छ । हरेक ५ जना युवामध्ये १ जनामा अर्थात् कुल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइन्छ ।
समस्या बढ्दै गएपनि विश्वको कुल स्वास्थ्य बजेटको ४ प्रतिशतमात्र युवाहरूको मानसिक स्वास्थयको लागि खर्च गर्ने गरेको पाइन्छ । अनुसन्धानकर्ताहरूका अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हने गरेको छ भने २४ वर्षको उमेरसम्म ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्या देखिएको पाइन्छ ।
मानसिक स्वास्थ्य समस्या आएमा अधिकांश युवाहरूले त्यसको समाधानका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग प्रदायकको सहयोग लिएको पाइँदैन । १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाइएको छ । कुल आत्महत्याको ७५ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आयस्तर भएका देशहरूमा हुने गरेको छ ।
१२ देखि २४ वर्ष उमेर समूहका १०० जना ट्रान्सजेन्डरमा गरिएको अध्ययनको नतिजाअनुसार ५१ प्रतिशतले आफ्नो जीवन अवधिमा आत्महत्याको सोचाइ आएको र ३० प्रतिशत जीवन कुनै पनि एक समयमा आत्महत्याको प्रयास समेत गरेको बताएका थिए । विश्वभर प्रत्येक १० मिनेटमा हिंसाको कारणले १ जना किशोरको मृत्यु हुने गरेको छ । १८ देशका १ लाख युवाहरूलाई लक्षित गरिएको सर्वेक्षणमा २५ प्रतिशतले शारीरिक बनावट र सौन्दर्यता, २५ प्रतिशतले लैंगिक अथवा यौनिकताका कारण र २५ प्रतिशतले आफ्नो राष्ट्रिय तथा जातिय पहिचानको आधारमा आफू खिसीट्युरीमा परेको कुरा व्यक्त गरेका थिए । यस्तो खालको खिसीट्युरीका कारण ८३ प्रतिशतले आफ्नो आत्मसम्मानमा नकारात्मक असर परेको जनाएका थिए ।
नेपालमा मानसिक रोग हामीले सोचे भन्दा धेरै नै आम समस्या भइरहेको छ । प्रत्येक ४ मध्ये १ लाई मानसिक रोग रहेको छ । यसरी नै प्रत्येक ५ बालबालिका र किशोर–किशोरीमध्ये १ जना मानसिक रोगबाट ग्रसित रहेको पाइन्छ । १५ देखि ४५ वर्ष समूहका ६ महिला मृत्युमध्ये १ जनाको आत्महत्याका कारण हुने गरेको छ ।
मानसिक समस्याका कारण ५ हजार मानिसले प्रत्येक वर्ष आत्महत्या गर्ने र १ लाख मानिसले आत्महत्या प्रयास गर्ने गरेका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस
विश्व मानसिक स्वास्थ्य महासंघ (डब्लुएफएमएच) ले सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउँदै आएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्यसम्बन्धी विषय वा क्षेत्रलाई समेट्दै यस क्षेत्रमा जनचेतना जगाउँदै आएको छ । यस वर्ष मनाइएको २६ औं विश्व मानसिक स्वास्थ्य दिवसको मूल नारा ‘बदलिँदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ तय गरिएको छ । यस दिवसलाई विश्वभर मनाउन विश्व स्वास्थ्य संगठनले सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेको छ । यही परिपे्रक्षमा नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, इपीडीमीयोलोजी र रोग नियन्त्रण महाशाखाको नेतृत्व र यस क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रत्यक्ष सहयोग र सहभागितामा यो दिवस देशभर मनाइएको छ ।
डब्लुएफएमएचले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर निकालेको सन्दर्भ सामग्रीमा विश्वव्यापी रुपमा युवाहरूको मानसिक स्वास्थ्यको अवस्थाबारे विभिन्न नयाँ तथ्य सार्वजानिक गरेको छ ।
मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्य समस्या
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका सामान्य तनावको सामना गर्न, उत्पादनशिल एवं प्रभावकारी तरिकाले काम गर्न र परिवार तथा समुदायमा योगदान दिन सक्षम हुन्छ । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणहरूबाट व्यक्तिको मनका भावना, विचार वा सोचाइहरूमा विचलनले गर्दा मानिसमा देखिने भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यवहारिक परिर्वतनलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ । मानसिक स्वास्थ्य समस्याले व्यक्तिको भावना, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ । जसको कारण व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार तथा सम्बन्धमा असर पुग्छ । यस्तो समस्या जुनसुकै लिंग तथा उमेर समूहलाई पनि हुन सक्छ ।
मानसिक स्वास्थ्य समस्याका लक्षण
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा भावनात्मक लक्षणहरू जस्तै– दुःखी महसुस गर्ने, धेरै डराउने, आत्तिने, बिनाकारण उदास हुने, आत्मसम्मानमा कमी हुने लक्षण देखिन्छन् । त्यस्तै सोचाइजन्य लक्षण जस्तै– निरासपूर्ण सोच आउने, निर्णय गर्न नसक्ने, आत्महत्याको सोचाइ आउने, चिन्ता लागिरहने, स्मरण शक्तिमा ह्रास आउने हुन्छ ।
शारीरिक लक्षणमा अत्यधिक थकान महसुुस गर्ने, दुब्लाउँदै जाने, कमजोर वा शिथिल हुने, निन्द्रामा गडबडी हुने, खानामा रुची घट्ने आदि लक्षण देखिन्छन् भने व्यवहारिक समस्यामा शंका गर्ने, बरबराउने, आफ्नो स्वास्थ्यमा बेवास्ता गर्ने, रिसाउने, आक्रामक हुने र समाजलाई मान्य नहुने व्यवहार गर्ने आदि लक्षण देखिन्छन् ।
अस्पताल र स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीमध्ये करिब २५ प्रतिशतले केही मानसिक वा व्यवहारजन्य समस्यालाई प्रायः शारीरिक समस्यासँग जोडेर देखाउने गरेका छन् । बेवारिसे बालबालिका, एकल, गर्भवती, सुत्केरी, घरेलु तथा लैंगिक हिंसा प्रभावित महिला, जेष्ठ नागरिक, लागूऔषध दुव्र्यसनमा परेका, विविध खालको दुव्र्यवहार र विभेदमा परेका व्यक्ति, द्वन्द्वबाट प्रभावितहरू मानसिक स्वास्थ्य समस्याको बढी जोखिममा रहेको पाइएको छ ।
धेरैजसो मानसिक स्वास्थ्य समस्यालाई उपचार गर्न सकिन्छ । तर उपचार सेवाको अभाव, जनचेतनाको कमी तथा रोगप्रतिको लान्छनाको कारण थोरै व्यक्तिमात्र उपचार प्रक्रियामा आएका छन् । मानसिक स्वास्थ्य समस्याको समयमा नै निदान गरी औषधी, मनोसामाजिक सहयोग तथा मनोविमर्शको माध्यमबाट उपचार गर्न सकिन्छ र उपचारपश्चात् निको भई आफ्नो दैनिकी सुचारु गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्