कोरोनाभाइरस: एसियाका महिलालाई परेको पाँच प्रभाव

चीनमा कोरोनाभाइरसको प्रकोप देखा परेयता सङ्क्रमणको विश्वव्यापी विस्तारसँगै एसियामा सङ्क्रमित हुने र ज्यान गुमाउनेहरूको सङ्ख्या दशौँ हजार छ।
स्वास्थ्य लडाईँसँगै भाइरसले एसियाभरी गम्भीर समाजिक प्रभाव पारेको छ र महिलाहरू तुलनात्मक रूपमा धेरै प्रभावित भएका छन्।
एसिया र प्रशान्त क्षेत्र हेर्ने राष्ट्र सङ्घकी मानवीय र विपद् जोखिम सल्लाहकार मारिया होस्टबर्गले भन्छिन्, “सङ्कटले जहिले पनि लैङ्गिक असमानता बढाउँछ।”
एसियाका महिलाले अहिलेको आकस्मिक पीडा बेहोर्नु पर्नाका पाँचवटा कारण यस्ता छन्।
१. स्कूल बन्द
दुई सन्तानकी आमा पत्रकार सङ्ग सो योङ्ग भन्छन्, “म अहिले तीन सातादेखि बच्चाहरूसँग घरमै छु।”
उनी दक्षिण कोरियामा बस्छिन्। त्यहाँ थप दुई साताको निम्ति नयाँ शैक्षिक सत्र स्थगित गरिएको छ। जसका कारण मार्च २३ तारिखसम्मका निम्ति विद्यार्थीहरू स्कूल फर्किन पाउने छैनन्।
युनेस्कोको पछिल्लो तथ्याङ्क अनुसार दक्षिण कोरिया, चीन र जापानमा २५ करोड ३० लाख विद्यार्थीहरू मार्च ४ तारिखमा पूर्व प्राथमिकदेखि उच्च माध्यामिक कक्षामा सहभागी हुने थिए जो अहिले विद्यालय गइरहेका छैनन्।
सङ्क्रमण रोक्न लिइएका यस्ता निर्णयले सङ्ग जस्ता महिलालाई अप्ठेरो परेको छ। पूर्वी एसियाका कैयौँ देशहरूमा घरमा रहेका आमाको काँधमा असन्तुलित बोझ बढेको छ र सङ्गले आफूलाई घोर निराशाले छोपेको सुनाइन्।
उनी भन्छिन्, “साँच्चै भन्ने हो भने म कार्यालय जान चाहन्छु किनकि म घरमा ध्यान केन्द्रित गर्न सक्दिन। तर घर चलाउन मेरा पतिले कमाउनु पर्छ र उनलाई फुर्सद छैन।”
सङ्गका ११ वर्षीय छोरी र पाँच वर्षीय छोराले फिल्म हेरेर र खेल खेल्दै दिन काट्छन्। उनले छोराछोरी सुतेका बेला कतिपय काम पूरा गर्ने प्रयास गर्छिन्।
उनको अवस्थाले काममा लैङ्गिक समानताको सन्दर्भमा दक्षिण कोरियाको दयनीय अवस्था देखाउँछ। वर्ल्ड इकोनोमिक फोरमले आर्थिक क्रियाकलापमा महिलाको सहभागिता सम्बन्धी सन् २०२० को प्रतिवेदनमा दक्षिण कोरियालाई १५५ मध्ये १२७ औं स्थानमा राखेको छ।
सङ्गले स्कूल बन्द हुनाले बालबच्चा हेरचाह गर्नुपर्ने बाध्यताका कारण कार्यालय जान नसकेका महिला कर्मचारीहरूको तलब कैयौँ कम्पनीहरूले कटौती गरिरहेको सुनेकी छन्।
उनी भन्छिन्, “कैयौँ कम्पनीहरूले नभने पनि उनीहरूले अझै पनि कामकाजी महिलालाई बोझको रूपमा हेर्ने गर्छन्।”
जापान सरकारले स्कूल बन्द हुनाले सन्तानको हेरचाह गर्नुपर्ने कर्मचारीहरूले विदा लिएमा प्रतिदिन ८० डलर दिने घोषणा गरेको छ।
स्कूल बन्द गर्ने निर्णयलाई लिएर यसको प्रभावकारितामा प्रश्न पनि उठाइएको छ।
- भारतले औषधि निर्यातमा नियन्त्रण गरेपछि विश्वभरि अभाव हुने त्रास
- झुट्टो दाबी गरिएको भन्दै मास्कका दुई विज्ञापनमा प्रतिबन्ध
एक साना व्यवसायी नात्सुको फुजीमाकी टक्युचीको भनाइ छ, “स्कूल बन्द गर्नाले भाइरसको विस्तार रोक्न सहयोग गर्दैन। यसले केवल कामकाजी महिलालाई बोझ थपेको छ।”
२. घरेलु हिंसा
चीनमा दशौँ लाख मानिसहरूले घरभित्रै समय बिताउँदा त्यहाँ घरेलु हिंसाका घटना बढिरहेको अधिकारकर्मीहरूले बताएका छन्।
सन् २०१९ को नोभेम्बरमा भाइरसको प्रकोप सुरु भएको वुहान पुगेकी महिला अभियानकर्मी गुओ जिङ्गले बताए अनुसार आफ्ना अभिभावकहरूबीच घरेलु हिंसा देखेको बताउने युवाहरूले उनीसँग व्यक्तिगत रूपमा सोधखोज गरेका छन्। तर ती मानिसहरूलाई कोसँग सहयोग माग्ने भन्नेबारे जानकारी नभएको उनको भनाइ छ।
हेनान प्रान्तमा बस्ने चिनियाँ अधिकारकर्मी शियो लिले आफ्नी एकजना नातेदार पूर्वपतिको आक्रमणमा परेको र सहयोगको याचना गरेको घटनाबारेमा बीबीसीसँग चित्त दुखाइ सुनाइन्।
उनले भनिन्, “सुरुमा उनलाई गाउँबाट उद्धार गर्न अनुमति पाउन असम्भव देखियो, तर अन्तत: निकै अनुनय विनय गरेपछि प्रहरीले अनुमति दियो र मेरो भाइले उनी र उनका छोराछोरीलाई भेटेर ल्याए।”
बेइजिङमा रहेको गैरनाफामुखी महिला अधिकारवादी संस्थाकी निर्देशक फेङ्ग योनले क्वारन्टीन घोषणा गर्नुअघि भन्दा पीडितहरूको उजुरी तीन गुणा बढी आएको बताइन्।
उनी भन्छिन्, “प्रहरीले प्रकोप देखाएर घरेलु हिंसालाई गम्भीरतापूर्वक नलिने बहाना बनाउनु हुँदैन।”
युएन विमिनले पनि नियमित स्वास्थ्य जाँच वा लैङ्गिक हिंसा जस्ता महिलाहरू लक्षित सेवासँग सम्बन्धित साधन स्रोतहरू प्रकोप नियन्त्रणको निम्ति अन्यन्त्र लगिने विषयले आफूलाई चिन्तित तुल्याएको जनाएको छ।
३. अग्रभागमा रहने हेरचाहकर्मी
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य र सामाजिक क्षेत्रमा ७० प्रतिशत महिला काम गर्छन्।
चिनियाँ सञ्चार माध्यमले ‘पवित्रता र योद्धा जस्तो’ भन्दै नर्सको रूपमा अग्रभागमा रहेर काम गर्ने महिलाको प्रशंसा गरिरहेका छन्। तर ती महिला स्वास्थ्यकर्मीको वास्ताविकता के छ?
गान्सु प्रान्तका महिला स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरसको प्रकोपविरुद्धको लडाईँमा सहयोग गर्न पठाउनुअघि कपाल खौरिन बाध्य पारिएको देखिने एउटा भिडिओ अनलाइनमा आएपछि त्यसबारे विभिन्न प्रतिक्रिया आएको थियो।
हालै नौ महिनाको गर्भ तुहिएकी एक स्वास्थ्यकर्मी काममा फर्किएकी थिइन्। त्यो प्रचारबाजीले खतरनाक उदाहरण प्रस्तुत गर्ने भन्दै ठूलो प्रतिक्रिया उत्पन्न गरिदिएको थियो।
गत महिना बीबीसीले कुराकानी गरेको एक नर्सले १० घन्टा लामो कार्यालय समयमा अस्पताल कर्मचारीहरूलाई खान, आराम गर्न वा शौचालय प्रयोग गर्न समेत अनुमति नदिइने गरेको बताएकी थिइन्।
जियाङ् जिनजिङ्गका अनुसार सबै अस्पताल कर्मचारीहरूलाई त्यसो गरिएको छ तर महिलाले थप भेदभावको तहको पनि बोझ उठाइरहेको बताइन्।
- कोरोनाभाइरस प्रकोपको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सङ्क्रमणबाटै मृत्यु
- सीमा काट्न एक क्यान्सरपीडितको हारगुहारः त्यसपछि के भयो?
उनी प्रकोपको केन्द्र बनेको हुबे प्रान्तमा अग्रभाग खटिएका कर्मचारीलाई महिला अनुकूलको स्वच्छ उत्पादन पुर्याउने प्रयास गरिरहेको कोरोनाभाइरस सिस्टर सपोर्छ अभियानसँग जोडिएकी छन्।
उनका अनुसार महिलाको महिनावारीका आवश्यकतालाई पनि बेवास्ता गरिएको छ।
उक्त अभियान अन्तर्गत महिनावारी हुँदा लगाइने प्याड लगायतका साधनहरू आठ लाखभन्दा धेरै सङ्ख्यामा वितरण गरिएको उनको भनाइ छ।
समाजिक सञ्जालमा स्वयम्सेवकको अभियानको प्रशंसा भएपछि सरकारी निकाय विमिन्स डेभलपमेन्ट फाउन्डेसनले महिला स्वास्थ्यकर्मीहरूका निम्ति महिनावारीका बेला आवश्यक सामान पठाइने बताएको छ।
४. आप्रवासी घरेलु सहयोगी
हङ्कङ्कमा चार लाख घरेलु कामदार रहेको अनुमान छ। ती मध्ये धेरै फिलिपिन्स र इन्डनेशियाबाट गएकाहरू छन्। उनीहरूमा आफ्नो कामको अनिश्चिततालाई लिएर मात्र होइन् मास्क र हात धुने स्यानिटाइजर जस्ता सुरक्षात्मक सामानहरू किन्न सक्ने आफ्नो कमजोर हैसियतलाई लिएर पनि चिन्ता बढिरहेको पाइन्छ।
हङ्कङ स्थित आप्रवासी कामदारहरूको निम्ति काम गर्ने परोपकारी संस्थाका महानिर्देशक सिन्थिया एब्डोन-टेलेज भन्छिन्, “मूल्य उच्च भएकाले मास्क किन्न सक्ने क्षमता नहुँदा आप्रवासीहरूमा त्रास बढेको छ।”
त्यहाँ कार्यरत इन्डोनेशियाकी एक कामदार इका सेपटी सुसान्तीले बीबीसी इन्डोनिशियालाई भनिन्, “सबै आप्रवासीले रोजगारदाताबाट मास्क पाएका छैनन्। हामीले निकै महङ्गो मास्क आफ्नै खर्चमा किन्नु परेको छ। जसले रोजगारदाताबाट मास्क पाएका छन्, उनीहरूले एउटै मास्क हप्ताभरी प्रयोग गर्छन्।”
एब्डोन टेलेजका अनुसार उनको संस्थाले रोजगारदाताले नदिएपछि आफूहरूले आप्रवासी कामदारलाई वितरण गर्न मास्क सङ्कलन गरिरहेको जानकारी दिइन्।
हङ्कङ सरकारको आग्रहले पनि विदेशी घरेलु कामदारमा वितृष्णा जगाइ दिएको छ। सरकारले सङ्क्रमणको जोखिम कम गर्न उनीहरूलाई हप्ताको एक दिन पाइने विदामा पनि घरभित्रै रहन भनेको छ।
अधिकारकर्मीहरूका भनाइमा त्यसले आफ्ना प्रियजन र परिवारबाट टाढा रहेका महिलाहरूको मूल्यवान विदा खोस्छ र उनीहरूलाई शोषणको जोखिममा पार्छ।
५. लामो आर्थिक प्रभाव
अर्थशास्त्री र सरकारहरूले प्रकोपका कारण विश्व अर्थतन्त्रको आर्थिक वृद्धि सन् २००९ यताकै सबैभन्दा सुस्त हुने अनुमानमा छलफल गरिरहेका छन्।मानिसहरू बाहिर निस्किन छाडेमा बैङ्कककी यी महिला जस्ता साना व्यापारीहरू सबभन्दा पहिले प्रभावित हुनेछन्
युनिभर्सिटी अफ लन्डन सोआसकी उपप्राध्यापक क्रिष्टिना म्याग्स भन्छिन्, “कोरोनाभाइरसको ठूलो प्रभाव यात्रा, उत्पादन र खपतमा परेको छ जसले महिला र पुरूष सहित सबै क्षेत्रहरू समान ढङ्गले प्रभावित छन्। तर कम आय भएका महिला विशेष रूपमा प्रभावित हुन्छन्।”
उनका अनुसार चीनमा आप्रवासी महिलासँग रोजगार करार सम्झौता नहुँदा उनीहरूले काम नगरेका बेलाको तलब पाउँदैनन्।
त्यसकारण कोरोनाभाइरसको कारण उनीहरूको आम्दानी रोकिने छ। उनीहरू घरमै रहन बाध्य हुने वा आफ्नो सानो बचत पनि खर्च गर्नुपर्ने अवस्थाले उनीहरूलाई निकै अप्ठेरो अवस्थामा धकेल्न सक्ने उनको ठम्याइ छ।

चीनबाट आउने कच्चा पदार्थमा निर्भर केही दक्षिणपूर्वी एशियाली गार्मेन्ट उद्योगहरू बन्द हुन पुगेका छन्।
म्यानमार सरकारका अनुसार ज्यानुअरी महिनायता १० भन्दा बढी उद्योग बन्द भएका छन्। तर श्रम मन्त्रालयले कोरोनाभाइरससँग त्यसको सम्बन्ध नरहेको बताएको छ।
मा चिट सूले बीबीसी बर्मिजलाई बताए अनुसार भर्खरै बन्द भएको गार्मेन्ट उद्योगमा रहेको उनको जागिरको तलबमा उनको परिवार आश्रित थियो।
उनी भन्छिन्, “मलाई क्षतिपूर्तिसँग मतलब छैन। म उद्योगको आफ्नो जागिरमा फर्किन चाहन्छु।”
यूएन विमिनको भनाइमा दैनिक आम्दानी गर्ने, साना व्यवसायी र अनौपचारिक क्षेत्रमा कार्यरत सहितका महिलाहरूले ठूलो प्रभावको समाना गर्नुपर्नेछ।
यूएन विमिनको एसिया र प्यासिफिकका क्षेत्रीय निर्देशक मोहम्मद नसिरी भन्छन्, “मध्यम र दीर्घकालीन योजनामा महिला र पुरुषका फरक आवश्यकतालाई पनि विचार गरिनुपर्ने खाँचो छ।”
उनका भनाइमा महिला हिंसाको सुनुवाइ र त्यसको उपचारको सुनिश्चितता अत्यावश्यक छ ।
स्रोत:BBC
प्रतिक्रिया दिनुहोस्