काठमाडाैं- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।

कोरोना संक्रमणको डर 

चिकित्सकहरूले पनि हात मिलाउँदा त कोरोना संक्रमण हुने जोखिम रहेकाले होलीमा जथाभावी रङ, अबिर दल्ने तथा भिडभाड गर्ने गर्दा यो खतरा अझ बढ्न भएकाले होली नखेल्न सुझाव दिएका छन्।

भेला, सभा, समारोह तथा भिडभाड नगर्न तथा अत्यावश्यक नभई घरबाट ननस्किन गृहमन्त्रालय, स्थानीय प्रशासनले यसअघि नै आग्रह गरिसकेका छन्।

विश्व स्वास्थ्य संगठनले नै नेपाललाई पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको देश घोषणा गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ।

तराईमा भने फागुपूर्णिमाको भोलिपल्ट होली मनाउने चलन छ।

तर देशभरै कोरोना संक्रमणको जोखिम देखिएकाले तराईमा पनि यसपटक होलीको रौनक नहुने स्थानीयले बताएका छन्।