काठमाडौँका यौन कर्मीको कथा : पेसा थाहा पाएपछि घरबेटीले यस्तो गरे

काठमाडौँ । पार्वती (नाम परिवर्तन) व्यावसायिक यौन कर्मी हुन्। यही कामले उनको घरपरिवार चलेको १० वर्ष भयो। यस बिचमा उनी काठमाडौँको सयभन्दा बढी ठाउँमा डेरा सरिसकिन्। घरबेटीले यौन कर्मी भन्ने थाहा पाउने बित्तिकै घरबाट निकालिदिन्छन्,’ उनले भनिन्, समाजले हामीलाई हेर्ने दृष्टिकोण राम्रो हुँदैन। हामीलाई हेर्दै कानेखुसी गर्ने धेरै हुन्छन्। जता गए पनि हामीले ठक्करै ठक्कर खानुपर्छ।’
अन्नपूर्ण पोस्टमा खबर छ ।’स्वास्थ्य समस्या पर्दा उनी डाक्टरकहाँ जाँदिनन्। कुनै ग्राहकले ठगेर भाग्यो भने प्रहरीकहाँ उजुरी गर्नेबारे उनले कहिल्यै सोचेकी छैनन्। ‘हामी यौन कर्मी हो भन्ने थाहा पाउने बित्तिकै जसले पनि हामीलाई गर्ने व्यवहार नै फरक हुन्छ,’ पार्वतीले भनिन्, ‘ग्राहकसँग जाने बेलामा मात्र हामी यौन कर्मी हौँ। बाँकी समय हामी पनि कसैका दिदी, बहिनी र आमा हौँ। तर, जसले पनि हामीलाई एक चोटि यौन कर्मी भनेर चिनेपछि सधैँभरि यौन कर्मीकै रूपमा चिन्छन्, त्यस्तै व्यवहार गर्छन्।’
आफूजस्ता महिलालाई सार्वजनिक स्थानमा बस्नै डर मर्दो भएको उनले सुनाइन्। ‘केही नगर्दा पनि चिया खाएको ठाउँबाट प्रहरीले समातेर लैजान्छ,’ पार्वतीले भनिन्, ‘सार्वजनिक बाटोमा हिँड्ने हाम्रो चाहिँ अधिकार छैन र हामी पनि यो देशका नागरिक हौँ।’
पार्वतीकी साथी अनुजा (नाम परिवर्तन) लाई केही दिनअघि रत्नपार्कमा प्रहरीले समात्यो। पुलिसले चौकी पुर्याउनुअघि नै नराम्ररी पिट्यो,’ उनले भनिन्, मेरो जीउमा अझै पनि नीलडाम छन्। हामी त रत्नपार्कमा उभिएको देख्नै हुँदैन, समातिहाल्छ। केही गल्ती नगर्दा पनि पुलिस देखेपछि भाग्न बाध्य हुन्छौँ।’
प्रहरीले समातेर मात्रै आफ्नो समस्या समाधान नहुने उनले बताइन्।‘वर्षौँदेखि गर्दै आएको पेसा हामी छाड्दैनौँ,’ अनुजाले भनिन्, ‘हामीले कसरी सुरक्षित रूपमा यौन श्रम गर्ने भन्ने कुरा बुझिसक्यौँ। बुझ्न नसकेको त कानुनको कुरा मात्र हो। कानुनले यौन श्रमिक महिलालाई कुटेर थला पार भन्छ हो नत्र हामीलाई दिउँसै सडकमा हिँड्न किन दिइँदैन
अनुजालाई मानिसहरूले यौन कर्मी, यौन व्यवसायी, देहव्यापार भनेको मन पर्दैन। हामी यौन कर्मी होइनौँ, देहव्यापार होइनौँ, यौन व्यवसायी पनि होइनौँ,’ उनले भनिन्, हामी त यौनको श्रम गर्ने यौन श्रमिक हौँ। हामीले शरीरको व्यापार होइन, शरीरको श्रम गरेका हौँ।’
प्रतिक्रिया दिनुहोस्