प्युठान । सरकारी वकिल कार्यालय प्युठानको नवनिर्मित भवनको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बुधबार उद्घाटन गरेका छन् ।

उनले देशभरका ४० भवन बनेको र केही भवन निर्माणका लागि शिलान्याससमेत गरिएको बताए । तीन वर्षमा देशका ९७ भवन निर्माण गर्ने र पीडितमैत्रीसहितको कार्य सम्पादन गर्नुपर्ने महान्यायाधिवक्ता खरेलले बताए ।

समुदायमा सरकारी वकिल कार्यालय सञ्चालन भएको र यसका काम के कसरी हुन्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने खरेलले बताए ।

भवन निर्माण गर्न २०७४ साल असार १९ गते सम्झौता भएको थियो । दुई पटक म्याद थप भई २०७६ पुस १० गते निमार्णकार्य सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालय प्युठानका जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए।

भ्याटबाहेक दुई करोड ६८ लाख ४४ हजारको लागतमा १५ कोठाको भवन निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । आशु इसान जेभी निर्माण कम्पनीले भवन निर्माणको काम गरेको थियो ।