दुवै मृगौला फेल भएका सोमबहादर भन्छन् : म पैसा नभएरै मर्ने भए

“आदरणीय दाजुभाइ दिदीबहिनीमा म मिर्गौला पीडितको तर्फबाट नमस्कार।ओखलढुङ्गा जिल्ला नर्वदेश्वर घर भएको म सोम बहादुर जोगिको दुवै मिर्गौला फेल भएको हुँदा टिचिङ हस्पिटलमा डाइलासिस गराइरहेको छु।मेरो आर्थिक अवस्था निकै कमजोर भएको हुँदा हजुरहरूसँग सानो सहयोगका लागि यहाँ आएको छु।तपाइँहरुको सानो सहयोगले नै मेरो जीवन बच्न सक्छ।त्यस कारण सेवा नै सबैभन्दा ठुलो धर्म हो।धन्यवाद।”
काठमाडाै/नरेन्द्र महतारा । यी माथिका भनाइ मिर्गौला पीडित सोम बहादुर जोगिका हुन्। उनका दुई वटै मिर्गौला फेल भएका छन्। हाल उनी आफ्नो रोगको निदानका लागि सहयोग याचना गरिरहेका छन्। उनको मिर्गौलाको उपचारका लागि अस्पतालले पाँच लाख नगद रुपियाँ आवश्यक रहेको बताएको छ। उनी त्यै पाँच लाखको पूर्तिका लागि रत्नपार्कमा स्पिकर बजाएर सहयोग मागिरहेका छन्।
दैनिक रत्नपार्कको आकाशे पुलमा मिर्गौला प्रत्यारोपणका लागि सहयोग माग्ने सोम बहादुरको आर्थिक अवस्था निकै कमजोर छ।उनका सन्तान नभएका होइनन्, छन् तर वास्ता नै गर्दैनन्। छोरा जागिरे छन्, छोरीहरूको बिहे भयो। ‘अर्काको घरमा गएको छोरीलाई के भन्नू तर छोराहरू हेर्दैनन्।’ उनले भने। उसै काठमाडाै सहर महँगो छ। त्यसमा पनि आफू गर्न केही सक्दिन्। जति सकिन्छ यही सहयोगबाट गुजारा चलाइरहेको छु। खासमा यो सहयोग आफ्नो मिर्गौला प्रत्यारोपणका लागि हो तर काठमाडाै सहरमा यो खानामा मात्र सीमित छ।उपचार कसरी गर्ने अब ? उनी भक्कानिए।
काठमाडाैमा कोठा भाडामा बस्दै आएका उनको अवस्था निकै दयनीय छ। कोठा भाडा नै ४ हजार छ। त्यसमा खानु,बस्नु उत्तिकै महँगो।उनका लागि त्यति सहज छैन काठमाडाै ।अनेक दुस्ख, अनेक पीडा, अनेक रोदनका बिच बल्झिरहेका छन् उनी।सहयोगी हातहरू गुहार्न उनी नपुगेको ठाउँ सायदै होला। तर सबैले आश्वासन मात्र दिएर अल्झाउने काम गरे। यस्तो देख्दा उनलाई सार्है नमज्जा लाग्छ।
ओखलढुङ्गामा आफ्नो पुर्ख्यौली सम्पत्ति टन्नै छ। उतै छोराहरूले समालिरहेका छन्। आफू कहिलेकाहीँ मात्र गाउँ जान्छु।अब सम्पत्ति जति भएपनी कामै लागेन।आफ्नो स्वास्थ्य नै तन्दुरुस्त छैन भने। धन, सम्पत्ति जे भनेपनी यही स्वास्थ्य नै हो। योभन्दा ठुलो अरू केही छैन। उनी यो रोगबाट ग्रसित भएको करिब २ वर्ष जति भयो। यहाँसम्म उनी औषधिकै भरमा बाँचिरहेका छन्। हप्ताको दुई दिन टिचिङ अस्पताल धाउँछन्। डाक्टरले औषधि दिन्छ अनि उनी लिएर फर्किन्छन्। मात्र औषधिको भर। रोगको निदानका लागि आकाशे पुलमा सहयोगको याचना गर्न थालेको पनि झन्डै २ वर्ष नै भैसक्यो। सहयोगबाट उठेको रकम बचत छैन।खर्च भइहाल्छ।उनले गुनासो गर्दै भने।
आफ्नो उपचारका लागि आफूले चुनावमा भोट गरेका नेतासँग सहयोग माग्नुभएन भनेर प्रश्न गर्दा मागेको थिए तर कसैले हेरेनन्।उनले सहयोगका नाममा प्राय सबैलाई भेटेकै छन्। जति भेटेपनी कसैले सहयोग गरेनन् मात्र निराशा थपिदिए। उनी जतिसक्दो अरूले धेरै सहयोग गरिदिए हुन्थ्यो भन्ने मान्छन्।
महानगरले सहयोग नमाग भन्छ।सहयोग मागेको देख्यो भने गाली गर्छ।यस्तो अवस्थामा सहयोग माग्न दिनुपर्ने हो तर दिँदैनन। उनी छोराहरूको त्यति विश्वास गर्दैनन्।आखिर छोराहरू जागिरे छन् तिनले आफूलाई यस्तो हुँदापनी हेरेनन् अनि म चाहिँ तिनै छोराहरूको पछि लागेर के नै पाउँछु र उनले भने।छोराहरू जागिर त खान्छन् तर केमा खान्छन् त्योसमेत उनलाइ थाहा छैन।

प्रतिक्रिया दिनुहोस्