काठमाडौं । दोलखाकी एक महिलाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी छन् । राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना र यौन दुर्व्यहारको प्रयास गरेको भन्दै शुक्रबार मुद्दा दायर गरेकी हुन् । आरोपपत्रमा मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै आधा अंश माग गरेकी छन् ।

बालिकाले मुख्यमन्त्री राईलाई २०७१ सालदेखि चिनेको बताएकी छन् । राईले विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौन दुर्व्यवहार गर्न कोसिस गरेको आरोपपत्रमा उल्लेख गरेकी छन् ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का राई नाम गरेकी महिलाले राईविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

राईले आफूलाई २०७२ सालदेखि २०७४ सम्म काठमाडौं बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा डेरामा राखेको उनले खुलाएकी छन् ।