रत्नपार्क/नरेन्द्र महतारा। काठमाडौँ सहरहरू मध्यको प्रख्यात नाम हो यो । यो ठाउँ त्यसै प्रख्यात भएको होइन। केही रहस्य छन्, केही कारणहरू पनि छन्। यो ठाउँमा सबका सब बिक्छन्। मान्छेका सपना बिक्छन् । मान्छेका शरीर बिक्छन्।अरू यस्तै धेरै थोक अनि सब थोक। यसो भनौ, के बिक्दैन यो ठाउँमा ? खाने, बस्ने, सुत्ने मात्र हैन सुत्ने साथी पनि बिक्छन् । त्यसैले त हरेकका लागि व्यापारको हब बन्ने गरेको छ रत्नपार्क।

मान्छेको आवतजावत थामी नसक्नु हुन्छ। धुलो धुवाँको कुरै नगरौँ।मान्छेको भिडभाडले ठाउँ नै खाली हुँदैन।त्यही भिडमा कोही आफ्नो बल बुताले सानोतिनो व्यापार गर्छन् । कोही अर्काको सहयोग माग्दै हुन्छन्।आखिर सबै व्यापार नै त हो नि।

त्यही भिडमा दैनिक जसो एउटा अनुहार देखा पर्छ। ठुलो स्पिकर, स्पिकर माथि सहयोग थाप्ने भाँडो, आफ्नो सहारा लट्ठी, बस्ने पिर्का, एकातिर झोला अनि खुट्टामा चप्पल। एक दृष्टिविहीन अनुहार।

जसलाई देख्दा सबैको आँसु झर्छ।आफ्नो स्पिकरमा मोबाइलको सहायताले झसंसारी माया बिचित्रञ भन्ने गीत बजाउँदै उनी सहयोगको भाँडो थापिरहेका हुन्छन्। उनी हुन् ओपेन्द्र पासवान।ओपेन्द्र पासवानको नाम लिन र सुन्न जति सजिलो छ उनको आँखा देख्दैनौ कथा र व्यथा सुन्न त्यति सहज पक्कै छैन।

उनी रौतहट जिल्लाका बासिन्दा हुन्।हाल उनी काठमाडौँको जोरपाटीमा आफ्नो श्रीमतीसँग कोठा भाडामा बस्दै आइरहेका छन्। उनको कोठा भाडा पनि उनको अवस्थाले धान्नै नसक्नेजस्तो छ। करिब ४३ सय। यो ४३ सय गरिखानेहरूका लागि कमै होला तर ओपेन्द्रजस्ता अरूको भरमा बाँचिरहेकाहरूका लागि धेरै परको कुरा हो। तैपनि उनले हरेस खाएका छैनन्।

आजसम्म जसरी भएपनी खर्च टार्दै आइरहेका छन्। उनको परिवारमा बुबा छैनन्। परिवारमा आमा, दाईभाई छन्। उनी आफू जन्मजात नै दृष्टिविहीन भएको बताउँछन्।

बाल्यकालमा नै काठमाडौँ आएका उनी आजसम्म यतै छन्।उनी काठमाडौँ आउँदा काठमाडौँ पनि उनी जस्तै सानै थियो। त्यति कोलाहल,त्यति चहलपहल थिएन।

आज आएर उनलाई बुढेसकालले छुँदै छ तर उनी बाल्यकालमा हुँदाको काठमाडौँ आज उत्तरार्द्धतिर लाग्दै छ।आज काठमाडौँ चहलपहलमा मग्न छ । लाखौँका सपना बेच्नमा माहिर छ तर ओपेन्द्रजस्ता फरक क्षमता भएका व्यक्तिहरूलाई काठमाडौँले सहयोगको नाममा उल्टै हेप्ने गरेको छ। आफ्नै ठाउँमा जा उतै सहयोग माग भन्दै धम्की दिन्छ काठमाडौँ। यस्तो सुन्दा उनलाई विरक्त लागेर आउँछ।

जे भए पनि, जसले जे भनेपनी उनी त्यति मतलब राख्दैनन्।राखुन् पनि कसरी।आफ्नो गरिखाने क्षमता हुँदो हो त उनी यस्ता मुटुमै तिर हान्ने बोली सुन्दैनथे।आफ्नो काम गर्थे, आर्थिक जोहो गर्थे। तर त्यो छैन।

जति गाली र घिनलाग्दा शब्द सुनेपनी आखिर सहयोग मागेन भने उनको चुलोमा आगै बल्दैन, खानै पाक्दैन। त्यसैले जति तिता बोली सुनेपनी, जति हेपिए पनि, जतिले नकारेपनी उनको अन्तिम विकल्प भनेको नै सहयोग माग्ने हुन्छ।

बिहानै ५ बजेतिर उनी स्पिकर र लट्ठीका साथ चाहिने अरू सामग्री बोकेर रत्नपार्कको यात्रामा निस्किन्छन्। त्यति बिहानै किन निस्किनुहुन्छ ? यो प्रश्नको जवाफ उनले आँखाभरि आँसु आउने गरी नै दिए। बिहानै निस्किन सकिएन भने गाडी मालिकहरूले गाडीमा चढाउन मान्दैनन् । हामीलाई नराम्रो व्यवहार गर्छन् । हेप्छन्। त्यही भएर बिहानै एउटा गाडी पाइन्छ त्यही गाडीमा रत्नपार्कको यात्रामा निस्किन्छु।उनले भक्कानिँदै भने।

आरक्षण सिट छोडिदिनु भन्दा हामी पनि अपाङ्ग नै हो भन्छन्,

गाडीमा आरक्षण सिट हुन्छन्। हामी आँखा देख्दैनौ, सिट छोडिदिनु भन्दा हामी पनि अपाङ्ग नै हो भन्छन् । के गर्ने पत्याउन त मन लाग्दैन तर पत्याएको जस्तो गरिदिन्छु । सोच्छन् हामीलाई केही थाहा हुँदैन। बाहिरी आँखा नभए पनि मनको आँखा त हुन्छ नि हाम्रो पनि । कसले कस्तो मनले बोल्दै छ आँखा हुनेले भन्दा प्रस्ट देख्न सक्छु । हामीलाई आरक्षण दिन आनाकानी गर्छन्। उनको गुनासो ।

ट्राफिक प्रहरी घुसमा बिक्छन्,

उनी ट्राफिक प्रहरीलाई जति विश्वास गर्छन् । जति सम्मान गर्छन् त्यति ट्राफिक प्रहरीबाट घृणा पाउँछन्। ‘ट्राफिक प्रहरीलाई कहिलेकाहीँ बाटो बिर्सिएका बेला, ठाउँ थाहा नभएका बेला बाटो कता जान्छ ? गाडी कता लाग्छ भनेर सोध्दा ट्राफिक प्रहरी भन्दैनन् । उल्टै हेप्छन् ।यस्तो देख्दा रुन मन लाग्छ। ट्राफिक प्रहरी घुसमा बिक्छन् ।’ उनले आरोप लगाए।

महानगर सहयोग माग्न दिँदैन,

काठमाडौँ महानगरपालिकाले ओपेन्द्रजस्ता व्यक्तिहरूलाई सहयोग माग्न नदिएकोमा उनी दुख व्यक्त गर्छन्। महानगर सहयोग माग्न दिँदैन, सहयोग माग्ने देख्यो भने लखेट्छ । स्पिकर फुटाइदिन्छ।अझ अस्ति स्पिकरसमेत थुतेर जेल नै हाल्दिन्छु भन्दै धम्कीसमेत दिए। उनले गुनासो पोखे। यदि हामीहरूलाई सहयोग माग्न दिइन्न भने हामीलाई महानगरले आर्थिक व्यवस्थापन गरिदिनुपर्‍यो। होइन भने हामीलाई सहयोग माग्न किन नदिने ? उनले प्रश्न गरे।

धुलो, धुवाँ खाइ साध्य छैन । मान्छेको भिडभाडले हिँड्ने ठाउँ हुँदैन तर पनि ५ १० रुपैयाँको लागि उनी त्यही धुलो खान्छन्, त्यही मान्छेको भिडभाड उनलाई प्यारो लाग्छ। जति मेहनतका साथ उनी गीत बजाउँदै बसिरहेका हुन्छन् त्यति सहयोग जुट्दैन।दिनमा त्यही बढी भयो भने ४/५ सय जति नत्र १/२ सय। उनको सहयोगको त्यो खुत्रुकेमा सीमित मान्छेले मात्रै पैसा खसाल्छन्।खुत्रुकेमा पैसा खसालिदिनेलाई उनी भगवानको उपमा दिन पछि हट्दैनन्। मान्छे चिन्न सक्दैनन् तर तिनको जयजयकार गर्छन् उनी। आफुजस्ताहरुलाई महानगरले सहयोगको याचना गर्न नदिए भोक भोकै मर्ने उनी बताउँछन्।

श्रीमती पनि दृष्टिविहीन,

उनकी श्रीमती पनि उनीजस्तै छिन्।अर्थात् दृष्टिविहीन। उनको करिब ६ महिनाअघि आफूजस्तै उनीसँग विवाह भयो।श्रीमती पनि आफूजस्तै भएकाले उनीहरूले विवाह गरे। उनीजस्तै श्रीमती पनि सहयोग माग्न हिँड्छिन्।सहयोग जति जुटेपनी उनीहरू त्यसमै सन्तुष्ट हुन्छन्। नहोस् पनि कसरी असन्तुष्ट भएपनी कसले सहयोग गरेर सन्तुष्टि दिने ? कोठामा श्रीमतीले गृहिणीको काम राम्रैसँग गर्ने उनी बताउँछन्।

सरकारले भत्ता बढाइदिए हुन्थ्यो,

उनी सरकारसँग एउटै गुनासो गर्छन्।आफ्नो भत्ता बढाइदिए हुन्थ्यो। हाल उनलाई सरकारले मासिक १६ सय भत्ता दिँदै आएको छ तर त्यो उनका लागि र उनको परिवारको खर्चका लागि पर्याप्त छैन। १६ सयले न उनको कोठा भाडा तिर्न पुग्छ, न खानेकुरा किन्न पुग्छ न त लत्ताकपडा नै। उनको मासिक खर्च नै करिब १२ १३ हजार आउने उनी बताउँछन्। त्यो १६ सयले त के नै पुग्छ र जसोतसो दिनभरि स्पिकर बजायो, सहयोग माग्यो।त्यसले केही मद्दत गरेको छ। सरकारले आफू र श्रीमतीलाई गरी मासिक १० हजार जत्ति भत्ता दिएको भए यसरी अर्काको गाली खाएर, धुलो धुवाँ खाएर सहयोग थाप्दै हिँड्नुपर्ने थिएन। उनी गुनासो पोख्छन्।

अवस्था देख्दा मर्न मन लाग्छ,

उनिलाई आफू दृष्टिविहीन हुनुमा कुनै गुनासो छैन यो त भावीको खेल थियो। तर आफूमाथि अरूले गर्ने व्यवहार देखेर उनी सार्‍है भावुक हुन्छन्। कहिलेकाहीँ आफूले थाहा नपाएको ठाउँ,नचिनेको बाटो सोध्दा उनी त्यति चित्तबुझ्दो जवाफ पाउँदैनन् । बरु उनी अरूको नजरमा अन्धो र हेपाहा साबित हुन्छन्। यस्तो व्यवहार गरेको देख्दा उनलाई विरक्त लाग्छ,रुन मन लाग्छ।अनि सोच्छन् बरु योभन्दा मर्नु नै जाती।

आफ्नो धर्म,संस्कार बिर्सिए,

उनी सबैले आफ्नो हिन्दु धर्म बिर्सिनेहरूले देश बिगारेका हुन भनेर आरोप लगाउँछन्। आफ्नो धर्म बिर्सिएर अर्काको क्रिस्चियन धर्म अङ्गाल्नेहरूप्रति उनी त्यति सद्भाव किमार्थ राख्दैनन्। बरु तिनलाई आफ्नो धर्म बिर्सिएकोमा रिस उठ्छ उनलाई। उनी भन्छन् ‘अरू धर्मको सम्मान गर्न सकिन्छ तर आफ्नो धर्म भुल्न कसरी सक्ने ?’

बाटोमा हिँड्नेले सहयोग गरेका छन्,

उनलाई रत्नपार्कको बाटोमा हिँड्ने मान्छेले सहयोग गर्छन्।उनले थापेको सहयोगको खुत्रुकेमा पैसा खसाल्छन्। ५ १० रुपैयाँ ।उनी पैसा चिन्दैनन्। पैसा नाप्छन् अनि कतिको भनेर आफै भन्छन्। कहिलेकाहीँ त्यो खुत्रुके खाली हुन्छ त कहिलेकाहीँ खाली हुदैँन्।

पहिले मादल बजाउँथे,

योभन्दा पहिले उनी त्यही रत्नपार्कको आकाशे पुलमा मादल बजाउँदै सहयोग याचना गर्थे तर आज मादल छैन स्पिकर छ उनको साथमा।मादल बजाउँन किन छोड्नुभयो भन्दा उनी भन्छन् ‌( मादल बजाउँदा बजाउँदा हात दुख्थे, सहयोग त्यति जुट्दैनथ्यो अनि मैले मादल बजाउँन छोडिदिए।आकाशे पुलमा जाम पनि हुन्थ्यो।हिँड्ने मान्छे लात्तीसमेत हान्थे। त्यही भएर आकाशे पुल छोडेको हुँ।

आकाशे पुलमा बस्दा जाम हुन्थ्यो,लात्ती खानुपर्थ्यो यहाँ बस्दा धुलो,धुवा खानुपर्छ । यो जिन्दगी त जता गएपनी दुखै दुख। उनी भक्कानिए।

 

आँखा फेर्ने सपना अधुरै भयो,

उनलाई यो संसार देख्ने ठुलो इच्छा थियो। आफ्नै आँखाले संसार नियाल्ने धोको थियो। तर उनी त्यो गर्न नसक्ने भए।आफ्नो आँखाको उपचार गरेर संसार हेर्ने उनको त्यो इच्छा सदाका लागि अन्त्य भएको छ।आँखाको उपचार गर्न उनले सबै अस्पताल धाएका छन्। त्यो पनि ठुला ठुला। तर विडम्बना उनी असफल भए।आँखा फेर्न नै नमिल्ने रहेछ।आफ्नो आँखा देखाउँदै उनले भने। यदि आँखाको उपचार भेदिनै भए जायजेथा सबै बेचेर,ऋणको भारी बोकेर भएपनी उनी आँखाको उपचार गर्ने थिए। तर त्यो असम्भव भइसक्यो।अब यस्तो भएपछि उनको दैनिकी नफेरिने भयो। त्यै गीत बजायो,धुलो,धुवा खायो। सहयोग माग्यो। बस।

भगवान् घरबेटी,

उनी आफ्नो घरबेटीलाई भगवानको उपमा दिन्छन्। घरबेटीले आफूहरूलाई राम्रो व्यवहार गर्ने उनी बताउँछन्।महिना पुगेका बेला भाडा भएन भने पनि उहाँ त्यति जिद्दी गर्नुहुन्न। भनेको मान्नुहुन्छ। जहिले पैसा हुन्छ त्यहिल्यै दिन्छौ।कोठामा बस्दा हामीलाई घरबेटीले त्यति तनाव दिनुहुन्न। उनी घरबेटीको प्रशंसा गर्छन्।

नरेन्द्र महतारा राजधानी न्यूजका संवाददाता हुन् ।