सर्लाही। सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै सर्लाहीका सरोकारवालाले तत्काल अघि बढाउन माग गरेका छन् ।

जिल्लाका सर्वपक्षीय संयन्त्रको बैठकले जिल्लाको पूर्वी सिमाना सङ्ग्रामपुरदेखि पश्चिम सिमाना बलरासम्मको हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र सञ्चालन गर्न माग गरेका हुन् । फागुपूर्णिमासम्म पनि सडक निर्माणको काम अघि नबढाए चरणबद्ध आन्दोलनमा उत्रने सरोकारवालाले घोषणा गरेका छन् ।

तत्काल सडक निर्माणको काम अघि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराइएको प्रदेशसभा सदस्य अशोक यादवले बताउनुभयो । आफूहरुको माग सुनुवाइ नभए आन्दोलनको कार्यक्रम अघि बढाउन सांसद, स्थानीय तहका प्रमुख, नागरिक अगुवालगायत सम्मेलित सङ्घर्ष समितिसमेत गठन गरिएको यादवले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षता एवं सर्लाही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवको प्रमुख आतिथ्यतामा हुलाकी सडकबारे छलफल गर्न सर्वपक्षीय बैठक बसेको हो । सर्वपक्षीय बैठकमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य, पूर्वपश्चिम तथा भित्री हुलाकी सडकमा पर्ने विभिन्न स्थानीय निकायका प्रमुख, सडक कार्यालय जनकपुर र चन्द्रनिगाहपुर रौतहटका प्रतिनिधिको बीचमा छलफल भएको हो ।

सदरमुकाम मलङ्गवा हुँदै भारतीय सीमासँगै जोडिने जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा नागरिकले वर्षायाममा हिलो र हिउँदमा धुलोको मार खेपी रहनुपरेको छ । सर्लाही खण्डको हुलाकी सडक निर्माणको काम तत्काल अघि बढाउने व्यवस्था मिलाई दिन आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग आग्रह गरेको सर्लाही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताए । आफूले हुलाकी सडकको अवस्थाबारे निरन्तररुपमा मन्त्री नेम्वाङ र मन्त्रालयका जिम्मेवार कर्मचारीलाई ध्यानाकर्षण गराइरहेको सांसद साहको भनाइ छ ।

रिफ्रेस सेन्टर निर्माण

पूर्व पश्चिम लोकमार्र्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रिफ्रेस सेन्टर राखिएको छ । प्रधानमन्त्री स्वारोजगार कार्यक्रमको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष उज्जवलकुमार कार्कीको विशेष पहलमा रिफ्रेस सेन्टरमा राखिएको हो ।

लामो दूरीका सवारीसाधन, चालक र यात्रुका लागि आराम गर्न सहज होस् भन्नका लागि रिफ्रेस सेन्टर राखिएको वडा अध्यक्ष कार्कीले बताए । सेन्टरमा निःशुल्क इन्टरनेट सेवासमेत शुरु गरिएको छ ।

केन्द्र सरकारले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा शुरु गर्ने लक्ष्य अघि सारेपछि लालबन्दी नगरपालिका–६ ले आफ्नो वडाभित्रका विभिन्न चार सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा शुरु गरेको हो । वडा कार्यालयले पूर्व पश्चिम राजमार्गअन्तर्गत जनवादी चोक, शिवमन्दिर, लेकाली चौर र राधाकृष्ण खेल मैदानमा निःशुल्क इन्टरनेट सेवा शुरु गरेको हो । बेरोजगार युवा फुर्सदिला हुँदा विभिन्न अनैतिक क्रियाकलापमा लाग्ने भएका कारण निःशुल्क इन्टरनेट सेवाबाट अमानवीय तथा अनैतिक क्रियाकलाप घट्ने उद्देश्यका साथ निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको वडा नम्बर ६ का वडाध्यक्ष कार्कीले बताए।